Monday, February 15, 2021

राजनीति छलगरी कमाउ नीति होइन

 

म जस्तो गोज्याङ्ग्रोको बुझाईमा राजनीति भनेको त सबै नीतिको मूल नीति हुनुपर्ने , यही नीतिका आधारमा राज्यका सबै नीति निर्देशित हुनुपर्ने हो तर आज राजनीति भनेको कमाउ नीति , छल नीति , ढाँट नीति , भ्रष्ट नीति , लुट नीति , दण्डहिन नीति आदर्श र इमान सकिएको नीति , वेइमानहरुको कार्यनीति सत्य हराएको नीति ,

 पैसावालाको नीतिको रुपमा परिणत भएकोछ । तपाईँसंग नीति सिद्धान्त बिचार र व्यवहार जे सुकै होस् नहोस् तर तपाईसंग धनपैसा छ , चाकडी चाप्लुसी गर्नुहुन्छ भने तपाई राजनीति गर्न पाउनुहुन्छ सक्नुहुन्छ अगाडी बढ्न सक्नुहुन्छ  र नेता बन्नुहुन्छ म लेखेरै दिन्छुँ तर तपाईसंग धनपैसा छैन तपाई जति सत्यबिचार र सिद्धान्त बोकेर हिड्नुस तपाईँलाई कसैले पत्याए त के ? यही कटु सत्यतालाई पच्छाउदै हामी जनताका मत लिएर गएका नेताजीलाई केही भन्ने जमर्को गरेको छुँ । नेताजी हो ! के तपार्ईहरुले नेपाली जनतालाई भेडा बाख्रा सोच्नु भएको हो ? के यो देश एउटी महिलालाई माइतीले अथवा मावलीले दिएको धन दाइजो जस्तै तिमीहरुको पेवा हो ? अर्थात विवाहमा दुलहीका बाबुआमाले दुलहीलाई दिएर पठाएको धनमाल, लुगा, गहना गोडधुवा हो । राजारजौटा सामन्तले आफ्ना आसेपासेलाई निगाहको रुपमा दिएको विर्ता हो ? कदापी होइन । जनतालाई धोका दिने तिमीहरुलाई अधिकार छैन । जनतालाई ठगेर खाने राजनीति नेपाली जनताको चाहना होइन । जनता त देशमा शान्ति, सुख, दुःख, हर्ष, विस्मात, रिस द्वेष आदि मनोभावले नविथोलिएको मानसिक स्थिति शान्त र स्थिर अवस्था, विद्रोह, होहल्ला, खलबली, रडाको आदि नभएको अवस्था, भोकतिर्खा, श्रमताप

, घामपानी आदि समन ग्रहहरुको बाधा तथा अशुभ फल, दोष आदिको निवृत्ति गर्ने कुनै शुभकार्य, मनमा कुनै दुःखपिर आदि नहुने वाधारहित अवस्था, आराम, चैन चाहन्छन् भने अर्को राज्य, राष्ट्र, कुनै उच्च संस्था आदिको संगठन, विघटन, संचालन स्थगन आदिको व्यवस्था गर्ने नियमहरु लेखिएको मुल विधान संविधानमा लिपिबद्ध भएका मौलिक हकअधिकारहरु कार्यान्वयन भएको अनुभूति गर्न चाहन्छन् ।


जनहित विपरित काम गर्ने व्यक्ति कहिल्यै पनि नेता हुन सक्तैन । नेताले त जनभावनाको कदर गर्दै जनताका काम इमान्दारी पुर्वक भ्रष्टाचार नगरी नगराई गर्नुपर्छ । देश र जनता भन्दा ठूलो नेता कहिल्यै पनि हुन सक्तैन ।देश भएर न नेता कहलिनु भएको हो । जनताको मत पाएर विजयी भएर सत्तामा पुग्ने अनि तिनै जनताको थाप्लोमा टेकेर रजाई गर्ने निरङ्कुस राणाशैली नेपाली जनताका लागि सैह्य छैन । हिजो राणा शासन र राजतन्त्र हटाउन सक्ने जनताले अहिलेका सामन्ति फटाहा नेता हौ भन्ने राजनीति दलका शिर्ष नेताहरुलाई जनताले के हटाउन सक्तैनन् ? अवस्य सक्छन्, कसो नेताजी हो ? शव्दले देश र जनताको हित गर्छौ भनेर वकालत वहस र भाषण गर्ने , चुनावी घोषणापत्रमा चिल्ला र चिप्ला लोभ्याउने बाचा सार्वजनिक गरेर मत तान्ने व्यवहारमा ढलेको सिन्को पनि नउठाउने अनि जनताले तिरेको करबाट विना काम हर्के जिम्मालको घोडाले दाना खादा झै भत्ता लुड्याउन लाज लाग्दैन तपाईहरुलाई ? देशमा शान्ति स्थापना गरी समाजबादउन्मूख व्यवस्था स्थापना गरी नयाँ नेपालको  निर्माण गर्न भनि चुनावमा आदर्शका ललिपप बाँडेर आज विदेशीसंग घुडा टेकेर उनैलाई खुसी बनाउन राष्ट्रघाति एम.सि.सि.जस्ता सन्धी सम्झौता गर्ने , कृषि क्षेत्रमा अरबौ रकम विनियोजन गरेर कृषिप्रधान देशमा रासायिनिक मल बंगालादेशसंग पैचो माग्नुपर्ने , शिक्षा स्वास्थ्य जस्ता आधारभूत कुराहरु निजिकरण गर्दै सर्वसाधारणको पहुँच बाहिर पुगाउने , राज्यकोषको ढुकुटीबाट महङ्गा गाडी मोटर किनेर जनमतको अवमूल्यन गर्न कत्तिपनि लाज लागेन ? जनहित गर्न भनि हामीले दिएको मतको दुरुपयोग गर्दै राज्यकोषको ढुकुटी आफुले लुड्याउने , आफुले नभ्याए आफ्ना आफन्त नातागोता भाइभतिजा , सालासाली , भाञ्जाभाञ्जीलाई विभिन्न वाहनामा लुड्याउन लगाउने त्यति गरेर नपुग्ने आफ्नो डम्फु बजाइदिने आसेपासेलाई समेत जुठोपूरा पुगाउन भ्याउन थोरै ग्लानी लाग्दैन ? लुड्याएपछि गोब्रयाउनु नपर्ला र ? त्यो दिन नआउला र ? इतिहाँसमा कसको दवदवा कति चल्यो र ? हिटलरले पनि म कमजोर छुँ त सायदै भनेका थिएनन् । हामी त नामधारी भएपनि गणतान्त्रिक व्यवस्थामा छौँ । २ बर्षपछि लुड्याएर बचेको लिएर किन्न पाइन्छकि भनेर आउने त जनतासंगै होलानी हैन र ? संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना पश्चात पहिलो निर्वाचनमा गरेका प्रतिबद्धताका आधारमा जनमत प्राप्त गरी कम्युष्टि नामक पार्टीकै दुईतिहाई बहुमत सहितको कार्यकारी सरकार भएको ३  बर्ष वितिसक्दा जनताले कुन परिवर्तनको अनुभूति गर्न पाए ? बरु पाए संघीयताको नाममा चर्को कर , जस्तो पैसा उस्तै स्वास्थ्य उस्तै शिक्षा पैसा छैन न त उपचार न त शिक्षा । कुन ठाउँमा कुन उद्योग कलकारखाना खुले अनि कति रोजगारीको सिर्जना गरियो ? बरु युवा शक्ति विदेश पलायन गराउने निरन्तरता नै भयो ।   जनताको काम गर्छौ भनेर राजनिति गर्ने अनी जनताको कामै नगरी हल्लेर खाने कहाँको चलन हो नेताजी हो यो तपाईहरुको । गोठाला खेतालाले पनि काम गरेर ज्याला लिन्छन् । तपाईहरु त काम नगरी सुविधा भोग्नु हुन्छ अब भन्नोस तपाईहरु गोठाला खेताला मजदुर भन्दा ठूलो हुनु भयो । विना परिश्रम भत्ता खाने त भ्रष्टाचारी हो । 

देशमा भाँडभैलो मच्चाएर सरकारी कोषबाट सुविधा लिन लाज लाग्नु पर्ने होइन तपाइहरुलाई । २ वर्ष वितेर ३ वर्ष लाग्यो, जनताको कामका नाममा एउटा माखो पनि मार्नु भएको छैन तपाईहरुले । भाषण गर्दा देश र जनताका नाममा वकालत गर्नु हुन्छ, काममा ३ वर्ष भयो काम नगरी जनता ठगेको । विशुद्ध देवको आफ्नो चरित्र विज्ञान पुस्तकमा चरित्र निर्माणका तीन तत्वहरु दिनु भएको छ ती हुन् (१) हृदयमा इमान्दारी (२)मस्तिष्कमा समझदारी (३) काधमा जिम्मेवारी । नेता हुने नै हो भने उल्लेखित ३ चरित्र आत्मसात गरेर राजनीति गर्नु नभए आजसम्मका पाप पखाल्न कासीवास जानु । फर्केर आए नेपाली जनताले लोप्वा खुवाएर अवश्य फिर्ता गर्नेछन् । किनभने राजनीति भनेको छल गरी कमाउ नीति होइन । अस्तु ।






No comments:

Post a Comment

जय विकृति

 ध्रुब गिरी सदस्य साहित्य परिषद् प्यूठान यहाँलाई अनौठो लाग्ला विकृतिको पनि जय भन्ने कस्तो मति हराएको मनुवा रहेछ भन्नुहोला तपाईँले जे भने पनि...

Popular